![]()
नयाँदिल्ली,२२ चैत ।
मध्यप्रदेशको भिंडमा भिभिपिएटी (भोटर भेरिफाइड पेपर अडिट ट्रेल) को परीक्षण प्रदर्शनका क्रममा इभिएम (इलेक्ट्रिक भोटिङ मेसिन) का फरक–फरक बटन थिच्दा भारतीय जनता पार्टीको चुनावचिह्न कमलको फूल छापिएपछि निर्वाचनको निष्पक्षतालाई लिएर भारतीय राजनीतिमा ठूलो विवाद पैदा भएको छ ।
भर्खरै सम्पन्न विधानसभा चुनावमा उत्तरप्रदेशसहित उत्तराखण्ड, गोवा र मणिपुरमा गम्भीर चुनावी धक्का बेहोरेको कांग्रेसले यो मुद्दालाई आफ्नो राजनीतिक क्षतिपूर्ति गर्ने एउटा महत्त्वपूर्ण मसलाका रूपमा भजाउन खोज्दै छ भने अन्य पार्टीहरूले समेत यसलाई गम्भीर मुद्दा बनाएका छन् ।
कांग्रेस नेता दिग्विजय सिंह, ज्योतिरादित्य सिन्धिया र विवेक तन्खाका साथै आम आदमी पार्टी (आप) ले नयाँदिल्लीस्थित भारतको निर्वाचन आयोग (इसी) को कार्यालयमा यसबारे उजुरी गरिसकेका छन् ।
उनीहरूले मध्यप्रदेशको अटेर र बान्धवगढमा हुन लागेको निर्वाचन कागजकै मतपत्रबाट गराउन समेत माग गरेका छन् । यसले भर्खरै उत्तरप्रदेश र उत्तराखण्डमा भाजपाले प्राप्त गरेको अप्रत्याशित मत परिणामलाई शङ्काको घेरामा ल्याइदिएको छ र भारतीय राजनीतिमा निर्वाचनको निष्पक्षतालाई लिएर गम्भीर बहस पैदा भएको छ ।
आपका नेता अरविन्द केजरीवालले भनेका छन्ः‘‘चुनाव निष्पक्ष भएको छैन । भोट मानिसले होइन, मेसिनले हालेको छ । मेसिनको सफ्टवेयर फेरिएको छ । मेसिनमा कुनै गडबडी हुन सक्दैन भन्ने निर्वाचन आयोगको दाबी झुटो सिद्ध भएको छ । यस्तो स्थितिमा इभिएमको हिलोबाट कमल नै निस्किन्छ ।’
कांग्रेस नेता दिग्विजय सिंहले भनेका छन्ः‘सारा दुनियाँमा कागजको मतपत्रबाटै चुनाव भैरहेको छ भने हामीलाई केको आपत्ति ? इभीएमका पार्टपुर्जा विदेशबाट मगाइन्छ । हामी यसमा विश्वास गर्न सक्दैनौं । आगामी चुनाव जहाँ हुन्छ, मतपत्रबाटै हुनुपर्छ, भलै चुनावमा केही ढिलो किन नहोस् ।’


